Friday, 14 December 2012

जुनले समेत मुख छोपेको रातमा 


सधैँको त्यो शून्य सडक । त्यही शून्य गल्ली र म एक्लो यात्री । गन्तव्यको खोजीमा भौतारिरहेको म एक लक्ष्यविहीन यात्री । जुनेली रात । झ्याउँकिरीको 'झ्याउँ झ्याउँ' र कुकुरको 'भुङ् भुङ्'मा रत्तिँदै आफ्नो दुलो खोज्दै लम्किरहेको म उही यात्री । बाटोको मार्गदर्शक झैँ सदा ठिङ्ग उभिइरहने त्यो बिजुलीको पोलको बत्ती पनि 'झ्याप्प झ्याप्प' र 'झिम्म झिम्म' गर्दैछ । त्यो कहिले निभ्दै त कहिले बल्दै आफ्नो दैनिकी गुजारिरहेको छ । पोल नजिकैको कन्टेनरमा आफ्नो बासस्थान बनाएर बसेको एउटा भुस्याह कुकुर मलाई टाढैबाट देखेर भुक्छ- 'भुङ्…भुङ्…भुङ्…भुङ्' । तर त्यसको भुकाइमा कटुता छैन । न त रीस नै । एक किसिमको मिठास छ त्यसको भुकाइँमा । यस्तो लाग्छ त्यो मलाई भुकेर गाली नगरी नतसा्रइ मेरो स्वागत गरिरहेछ । मेरो आगमनमा खुसी भई दुई चार शव्द मिठो बोल्दै छ । म त्यसको नजिक पुग्नासाथ त्यो मलाई देखेर आफ्नो बाङ्गो पुच्छर झन् बाङ्गो पार्दै हल्लाउँछ सायद मलाई स्वागत गर्न र मलाई एकचोटी गज्जवसँग नाक हल्लाई हल्लाई 'स्वाक स्वाक' र 'सुक सुक' गर्दै सुँघ्दछ । ऊ आफ्नो देवे्र हात सकि नसकी मतिर बढाउँदछ सायद पहिलो भेटमा हात मिलाउन । उसको दाहिने हात गएको महिना एउटा ट्याक्सीले किचिदिएर भाँचिएको थियो । म उसको देब्रे हात समात्छु र एकछिनसम्म सुम्सुमाउँछु । खल्तीबाट रुपियाँगोटाको दुईवटा िपंकी बिस्कुट झिकेर उसको सामुन्ने छरिदिन्छु । ऊ दङ्ग परेर बिस्कुट चपाउन थाल्छ । म भने आफ्नो गन्तव्यतिर लम्कन्छु । ऊ बिस्कुट छाडेर मलाई परसम्म छोड्न आउँछ । केहीबेर हिँडेपछि ऊ पुनः आफ्नै बासस्थानतिर फर्कन्छ । 

No comments:

Post a Comment